प्लटिङ खनेर तरकारी खेती

समाचार

एक दशकअघिसम्म कीर्तिपुरको सल्यानथान–४ स्थित कुटुम्ब बस्तीको अधिकांश भू–भाग खेतीयोग्य जमिन थियो । अहिले त्यस क्षेत्रमा ठूला–ठूला घर ठडिएका छन् । बाँकी जमिन पनि प्लटिङ गरिएको छ । कुनै समय धान र विभिन्न तरकारी फल्ने जमिन प्लटिङ गरेपछि वर्षौंदेखि बाँझो छन् । यसरी लामो समय बाँझो रहेका केही जमिनमा यतिबेला भने तरकारी उम्रेका देखिन्छन् । कोभिड–१९ (कोरोना संक्रमण) को महामारीपछि सुरु भएपछि नेपाल लक डाउन भएको झन्डै २ महिना भयो । यो अवधिमा मानिसहरू घरमै छन्, कामविहीन हुनु परेको छ । खाली समयको सदुपयोग हुने र अर्गानिक तरकारी खान पाइने भएपछि प्लटिङ गरिएका जमिनमा कुटुम्ब बस्तीका वासिन्दाले कुटो–कोदालो चलाएका छन् । जहाँ तरकारी र मकै खेती गरेको देखिन्छ । कुटुम्ब बस्तीको विष्णुदेवी खोला किनारमा ९ घर छन् । ती सबै घर परिवारले आफ्नो वरपर वर्षौंदेखि बाँझो रहेको जमिन खनेर विभिन्न प्रकारका बिऊ रोपेका छन् । प्लटिङ गरेको जग्गामा रोपिएका मकै, भिन्डी, बोडी, फर्सी, सिमी, लौका, घिरौंलालगायतका बिऊ उम्रिएर, हुर्केर फल हाल्ने बेला पनि भइसक्यो । यसरी बाँझो जमिनमा तरकारी रोप्नेमध्येकी एक हुन्, सावित्रा शर्मा । ‘घरअगाडि नै रहेको ४ आना खाली जमिनमा उत्पादनमुखी काम गर्नुपर्छ भन्ने लाग्यो र खेती गर्ने सोच बनाएकी हुँ’, शर्मा भन्छिन्, ‘खाली समयको सदुपयोग हुने र भोलि अर्गानिक खानेकुरा पनि खान पाइने भएकाले चासो बढेको हो ।’ उनले सो जमिनमा मकै, फर्सी, बोडी, राजमा, भट्ट र गावा रोपेकी छिन् । सबै राम्रोसँग फलेमा २–३ महिना बजारबाट आयातित तरकारी किनेर खानुपर्ने समस्याबाट मुक्त भइने उनको भनाइ छ । भन्छिन्, ‘मैलेमात्र होइन, यो क्षेत्रमा धेरैले यसरी खेती गरेका छन् । यसरी अधिकांश परिवार तरकारीमा आफैं आत्मनिर्भर भएपछि विदेशबाट आयात हुन केही भए पनि कम हुन्छ । त्यसले देशको अर्थतन्त्रलाई पनि केही सहयोग हुने मेरो विश्वास छ ।’

शर्माजस्तै, त्यस क्षेत्रका रेश्मीराज कंगाली, विमला ढकाल, पिताम्बर गिरी, मानबहादुर केसी, निर्मल केसी, गौरीशंकर चौधरी, मिना ओझा र किरण थापाको परिवारले पनि वरपर रहेको प्लटिङ तथा बाँझो जमिन खनेर यस सिजनमा फल्ने विभिन्न तरकारी रोपेका छन् । यो अवसर कोरोना महामारीले जुराएको डेन्टिस्टसमेत रहेका पिताम्बर गिरी बताउँछन् । भन्छन्, ‘अन्य समयमा बिहान ९ बजेदेखि राति ७–८ बजेसम्म काममै व्यस्त भइन्थ्यो । अहिले समय फालाफाल छ । त्यसैले खाली समयमा वरपर बाँझो रहेको जमिनको सदुपयोग गर्ने मनसायले सानो क्षेत्रफलमै भए पनि तरकारी रोपेको हुँ ।’ केही समयअघि गैंती, फरुवा र कोदालो बोकेर बाँझो जमिन खन्दै गरेका देखिने कुटुम्ब बस्तीका ९ परिवार यतिबेला उम्रिएका तरकारीमा पानी चार्न र झार गाडमेल गर्नमा व्यस्त छन् । घर नजिकैको जग्गामा त पानी चार्न सजिलै छ तर, अलिक टाढा तरकारी रोपेकाहरूलाई भने समस्या भएको रेग्मीराज कंगाली बताउँछन् । ‘मैले खोला वारी र खोला पारी गरेर दुई ठाउँमा मकै र तरकारी रोपेको छु’ उनी भन्छन्, ‘वारी त घर नजिकै भएकाले मोटर चलाएर पानी चार्न सजिलो छ । पारी कि खोलाबाट बोकेर चार्नुपर्यो होइन भने सम्भावना नै छैन ।’ कुटुम्ब बस्तीमात्र होइन, कीर्तिपुरका अधिकांश स्थानमा वर्षौदेखि बाँझो रहेको जमिनमा यतिबेला कुनै न कुनै तरकारी उम्रेको देखिन्छ । धेरैले मकै, राजमासँगै यस सिजनमा हुने सबै खाले तरकारी लगाएका छन् । केहीले जग्गा धनीसँग अनुमति लिएर बाँझो जमिन खनेका छन् भने केहीले अनुमतिविना नै । अनुमतिविना प्लटिङ खन्नेहरूलाई जग्गा धनीले केही भन्ने हुन् कि भन्ने डर पनि छ ।

सल्यानथान प्रवेशद्वारदेखि पश्चिम–उत्तरमा केही अग्लो क्षेत्र छ । झट्ट हेर्दा पाखोजस्तो देखिन्छ । त्यस क्षेत्रलाई प्लटिङ गरेर ब्रिकीका लागि ठिक्क पारिएको थियो । कोरोना महामारीपछि जग्गाको कारोबार हुने अवस्था रहेन । वरपर घर भएकाहरूले सो जग्गामा मकै, राजमा र विभिन्न खाले तरकारी रोपेका छन्, जग्गाधनीको अनुमतिविना । संकटको बेला जग्गाधनीले पनि कुरा बुझ्ने उनीहरूको विश्वास छ । हातले इसारा गर्दै झन्डै ७ आना बाँझो जमिन खनेर आफूले मकै रोपेको बताउने एक महिलाले साप्ताहिकसँग भनिन्, ‘सबै मान्छेको मन एउटै हुँदैन । बरु उब्जिएपछि जग्गा मालिकलाई पनि केही खान्की दिन्थ्यौँ । कुरा बुझिदिए त हुन्थ्यो ।’ यसरी बाँझो जमिनमा खेती गर्नुको अभिप्राय समय र जमिनको सदुपयोगमात्र होइन, कोराना महाहारीका कारण उत्पन्न हुन सक्ने खाद्य संकट टार्नु पनि हो । खाद्य संकट भइहाले पनि आफूले गरेको उत्पादनले केही टेवा पुगोस् भन्ने मनसाय धेरैको देखिन्छ । त्यसैले उनीहरू बाँझो रहेको जमिनमा मन खोलेर कृषि कर्म गरिरहेका छन् । झुलपोखरीका अच्युत अधिकारी अब सबै नेपाली परजीवी होइन कि स्वदेशी भएर बाँच्नुपर्ने बेला आएको बताउँछन् । उनले आफ्नो घरनजिकै रहेको १ रोपनी बाँझो जग्गा जोतेर धान खेतीका लागि तयार पारेका छन् । धानको बिऊ पनि राखिसकेका छन् । भन्छन्, ‘२०५६ सालतिर मेरो बुबाले ५० मुरी धान, १० मुरी तोरी बेच्नुहुन्थ्यो । अहिले हामीले किनेर खानु परिरहेको छ । अब यो अवस्थाको अन्त्य गर्नुपर्छ र हामी पहिलेकै अवस्थामा फर्कने वातावरण बन्नुपर्छ ।’ उनी आफ्नो घरवरपर अझै ५० रोपनी जग्गा प्लटिङ गरेर राखिएको र त्यसलाई पनि उपयोग गर्ने वातावरण बनाइदिन सरकारसँग माग गर्छन् ।

घरायसी उपयोगलाई सहयोग- कृषि विज्ञ राजेन्द्र देवकोटा यसरी गरिने खेतीले व्यवसायिक भन्दा पनि घरायसी उपयोगका लागि सहयोग पुर्याउने बताउँछन् । डेरामा बसेका, तरकारी फलाउने जग्गा–जमिन नभएका घर धनीका लागि ‘गरिखाने भाँडो’ भनेजस्तै केही समयका लागि बाँझो जमिनमा तरकारी फलाउने कार्यले निश्चित समयसम्मको आवश्यकता पूर्ति गर्ने उनको भनाइ छ । विभिन्न तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालमा ८० हजार हेक्टरभन्दा बढी कृषि योग्य जमिन प्लटिङ भएको छ । यसरी प्लटिङ भएको जमिनमा कुनै पनि उत्पादनमुखी काम भएका छैनन् । कि त प्लटिङले ग्राहक कुरेर बसेका छन् कि घर ठडिने मिति । उत्पादनमुखी जमिनमा प्लटिङ गरेर बेवारिसे छाडिदिनु गलत प्रवृत्ति भएको विज्ञ देवकोटा बताउँछन् । भन्छन्, ‘जमिनको प्लटिङ नै नगर्ने, घर नै नबनाउने भन्ने पनि होइन तर, ब्रिकी नहुँदासम्म, घर नबनाउँदासम्म प्लटिङ गरिएको जमिनलाई करारमा लगाउने वा कसैलाई कृषि कार्य गर्न दिएर आफूले पनि त्यसबाट लाभ लिनेजस्ता विषयमा पनि ध्यान दिनुपर्छ ।’ कोरोना महाकारीको अवस्थाले ठूलो संख्या बेरोजगार बनेको छ । वैदेशिक रोजगारीमा रहेकाहरू पनि घर फर्किएका छन् । त्यो संख्यालाई अन्य रोजगारीमूलक कार्यमा लगाउने अवस्था छैन । सबैभन्दा उपयुक्त विकल्प भनेको कृषि उत्पादन नै हो । त्यसका लागि बाँझो जमिनमा व्यक्तिगत रुपमा सुरु गरिएको उत्पादनमुखी कार्यलाई विस्तारै व्यवसायिक बनाउनुपर्ने कीर्तिपुर नगरपालिका–४ का वडा अध्यक्ष राजेन्द्र बानियाँ बताउँछन् । ‘धेरैजसो बाँझो जमिन कृषकको हातमा नभएर माफियाको हातमा भएका कारण उत्पादनमुखी कार्यमा लगाउन नसकिएको अवस्था छ’ वडा अध्यक्ष बानियाँ भन्छन्, ‘हामीले अहिले वडामा कसैलाई पनि जमिन बाँझो नराख्न आह्वान गरेका छौँ । अबको बजेटमा कृषि कार्यलाई प्रोत्साहन गरेर अगाडि बढ्ने हाम्रो सोच छ ।’

‘भूमी बैंक’ अवधारणा- सरकारले यस वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै देशभर रहेका बाँझो र उपयोगविहीन जग्गालाई उपयोगमा ल्याउन ‘भूमि बैंक’ स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बाँझो जमिन उपयोगमा ल्याउँदा कृषि उत्पादन तथा रोजगारी दुवै बढ्ने बताइन् । मुलुकभर आधाभन्दा धेरै खेतीयोग्य जमिन बाँझो रहेको सरकारी तथ्यांक छ । जुन जमिन व्यक्तिको नाममा छ । जग्गाधनीले बैंकमा जग्गा डिपोजिट राखेर निश्चित ब्याज पाउने व्यवस्था भूमि बैंकमा गरिएको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । यसरी भूमी बैंकमा राखिएको जग्गा खेती, उद्योग वा अन्य कुनै व्यवसाय गर्न चाहनेले भाडामा लिन सक्ने छ । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा भूमी बैंक स्थापना गर्ने नीति ल्याएको छ ।

तर, प्राध्यापकसमेत रहेका झुलपोखरीका अच्युत अधिकारी भने मल र बिऊ सर्वसुलभ नभएसम्म यस्तो नीति खासै उपलब्धीमूलक नहुने तर्क राख्छन् । भन्छन्, ‘मैले १ रोपनीमा धान खेती गर्न लागेको छु । बल्लतल्ल बिऊ त पाएँ, अब मल पाउने हो कि होइन थाहा छैन । पाए पनि महँगोमा विदेशबाट निर्यातित मल किन्नुपर्छ । सरकारले कृषि उत्पादनलाई प्राथमिकता दिनु राम्रो हो तर, त्यससँगै देशमै मल र बिऊ उत्पादन गर्ने नीति पनि भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।’ यस्तै, कृषि विज्ञ राजेन्द्र देवकोटा बाँझो र प्लटिङ गरिएका अपरिचितको जग्गामा खेती गर्नु दीर्घकालीन नहुने बताउँछन् । भन्छन्, ‘भोलि जग्गाधनी आएर मेरो जग्गामा किन खेती गरेको भन्यो भने उसलाई दिने कुनै जवाफ छैन । त्यसैले अहिले अरूको बाँझो जमिनमा भइरहेको खेती राम्रो पक्ष भए पनि यो अल्पकालीनमात्र हुनेछ ।’ उनी कार्यान्यनको पक्ष बलियो हुने हो भने सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘भूमी बैंक’ को अवधारणाले खेतीमा दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताउँछन् ।

राजेन्द्र देवकोटा, कृषि विज्ञ -मुख्य बजारभन्दा बाहिर हामी हरेकको घर छेउमा बाँझो जमिन छ । लामो समयदेखि त्यस्तो जमिनको सदुपयोग हुन सकेको छैन । जमिन कसको हो भन्ने नै थाहा छैन । प्लटिङ गरेर छाडिएको जमिन खनेर तरकारी रोप्ने अवस्था पनि हुँदैन । मानिसहरूले समय पनि पाएका हुँदैनन् । तर, कोरोना महामारीमा धेरै जना घरमै बसेको अवस्थामा बाँझो जमिन खनेको पाइएको छ । भोलि फलेको तरकारीले आफ्नो परिवारको आवश्यकता पूरा भयो भने बजारमा निर्भर हुनु पर्दैन । ४–५ आना जमिनमा फलेको अहिलेको मौसमअनुसारको तरकारीले ४–५ जनाको परिवारलाई २–३ महिनासम्म पुग्छ । यो एउटा शुभारम्भ हो । व्यक्तिगत रुपमा बाँझो रहेका जमिनको उपयोग गरेर स्थानीय सरकारलाई त्यस्तो जमिनको उपभोग गर्ने संकेत दिएको जस्तो पनि भएको छ । अब यो कुराबाट पाठ सिकेर देशभर बाँझो रहेका जमिनको उपभोग र उत्पादन गर्ने बाटो तय गर्नुपर्छ । बाँझो जमिनमा व्यक्तिगतरुपमा मात्र होइन, व्यवसायिकरुपमा पनि खेती गरिनुपर्छ र कृषिमा परनिर्भताको अन्त्य गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *