क्रिकेट प्रशिक्षकको भ्याकेन्सी

समाज

क्रिकेटमा पनि प्रशिक्षक चाहिन्छ ? यस्तो भन्ने पनि नभएका होइनन्, तर यो त पुरातन सोच भयो । खेलाडीलाई सुरुआती दिनमा प्रशिक्षक चाहिन्छ नै, तर परिपक्व खेलाडीले भरिएको टिमलाई प्रशिक्षक चाहिन्न भन्ने पनि उत्तिकै छन् । अहिलेको भारतीय क्रिकेट टिमलाई खासमा प्रशिक्षक नै चाहिन्न भनेर पनि केही खेल पण्डितले नभनेका र नलेखेका होइनन् । क्रिकेटलाई आधुनिक युगमा प्रवेश भइसकेको मान्ने हो भने प्रशिक्षक अनिवार्य नै हो । ट्वान्टी–२० क्रिकेटको विकास र लोकप्रियताका कारण क्रिकेटमा प्रशिक्षकको माग ह्वात्तै बढेको छ । अझ क्रिकेटमा पनि प्रशिक्षक थरी–थरीका हुन थालेका छन् । एक जना मुख्य प्रशिक्षक हुने भइहाल्यो, त्यसपछि उनका अनेक थरीका प्रशिक्षक । जस्तो ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षक । त्यसमा पनि विविधीकरण आइसकेको छ । जस्तो, बलर प्रशिक्षकमै पनि नयाँ विधा थपिएको छ, जस्तो अन्तिम ओभरतिर मात्र कसरी बलिङ गर्ने भनेर सिकाउने र योजना बनाउने प्रशिक्षक । नेपाली क्रिकेटमा शक्ति गौचनले लामो समय बिताए, अझै उनी प्रशिक्षकका रूपमा सक्रिय छन् । उनलाई उम्दा प्रशिक्षक मानिन्छ र उनले नै आफ्नो रेखदेखमा ठूलो सम्भावना बोकेका केही खेलाडी जन्माइसकेका छन् । खेलाडीका रूपमा शक्तिले दुई दशकजति नेपाली क्रिकेटमा बिताए, उमेर समूहको खेलदेखि राष्ट्रिय टिमसम्म । नेपालका लागि एक वान डे खेलिसकेपछि उनले तुरुन्तै सन्यासको घोषणा गरे, जुन एक प्रकारले अपेक्षित थियो ।

उनले नै प्रशिक्षकलाई लिएर एउटा राम्रो किस्सा सुनाएका छन् । शक्तिका अनुसार नेपाली क्रिकेटमा दुई प्रशिक्षकको ठूलो भूमिका छ र संयोगले दुवै श्रीलंकाली हुन् । पहिलो हुन्, रोय डायस । उनी त श्रीलंकाली क्रिकेटका लेजेन्ड नै हुन् । श्रीलंकाको पहिलो पुस्ताका खेलाडीमा पर्छन्, उनी । शक्तिको भनाइमा डायसले नेपाललाई क्रिकेट कसरी खेल्ने हो भनेर सिकाए । उनको संगतमा नेपाली खेलाडीले वास्तवमै क्रिकेट कसरी खेल्नुपर्छ भन्ने सिके । उनी आउनु अगाडि जति पनि नेपाली खेलाडी थिए, तिनले आफ्नै ढंगले क्रिकेट खेल्न सिकेका थिए । तर, नेपाली क्रिकेट टिमको पहिलो खास प्रशिक्षकको नाम भन्नुपर्दा डायसकै नाम पहिले आउँछ । त्यसपछि नाम आउँछ, पुबुदु दसानायेके । उनी डायस जत्तिका खेलाडी थिएनन्, उनले श्रीलंकाका लागि धेरै खेलेनन् । तर, प्रशिक्षकका रूपमा सायद उनीभन्दा एक पाइला अगाडि नै थिए । जति बेला उनी नेपालका प्रशिक्षक भए, उनले नेपाली क्रिकेटमा नवीनत सोच पनि भित्र्याए । शक्तिको भनाइमा दसानायेकेले नेपाली खेलाडीलाई क्रिकेटमा कसरी जितिन्छ, त्यो सिकाए । दसानायेके सानो–सानो कुरामा पनि धेरै ध्यान दिन्थे । उनको पारा माइक्रो म्यानेजमेन्टको थियो । जस्तो विपक्षी टिमका ब्याट्सम्यान कस्ता छन्, सबैभन्दा पहिले उनको खेलको खोजीनीति र विश्लेषण हुन्थ्यो, अनि त्यसैअनुसार उनलाई दबाबमा राख्न सक्ने बलर तयार पारिन्थ्यो । विपक्षी ब्याट्सम्यानको खेल्ने शैलीकै आधारमा फिल्डिङ सेट गरिन्थ्यो । यस्तै प्रवृत्ति बलरमा पनि लागू हुन्थ्यो ।

विपक्षी टिमका बलर कस्ता छन्, त्यसलाई बुझेर आफ्ना ब्याट्सम्यानलाई तयार पारिन्थ्यो । त्यसैले त दसानायेके हुँदा नेपाली क्रिकेटले एउटा लामै छलाङ मारेको थियो । यो त भए, सबै पृष्ठभूमि । यसमा थप ऐतिहासिक जानकारी के हो भने नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, सन् १९९६ को एसीसी ट्रफी । त्यसमा प्रशिक्षक थिए, सुनोज भट्टराई । यो त आधिकारिक नाम भयो । त्यो प्रतियोगिता खेल्न मलेसिया जानुअघि टिमलाई प्रशिक्षण दिने काम भने भारतका वीरेन्द्र भटनागर र पाकिस्तानका फारुख जमालले गरेका थिए ।

खालि प्रशिक्षक पद – अहिले तत्काल नेपाली टिमको प्रशिक्षक पद खाली छ । नेपाली टिमका सबै खेलाडी राम्रो भएर प्रशिक्षक नै नचाहिएको स्थिति भने होइन । यही स्थितिमा बीच–बीचमा जगत टमाटाले टिम हेरिरहेका छन् । खासमा नेपाललाई सकेसम्म चाँडै प्रशिक्षक चाहिएको छ, त्यो पनि अब्बल दर्जाको । माग त विदेशी प्रशिक्षककै हो । टमाटाकै नेतृत्वमा नेपालले खेलेको अन्तिम प्रतियोगिता हो, थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन ट्वान्टी–२० क्वालिफायर । यसमा नेपालको प्रदर्शन हुनसम्म खराब रह्यो । नेपालले अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये यो नै सर्वाधिक खराब रह्योभन्दा हुन्छ । यही प्रतियोगिताको क्रममा त हो, नेपाली टिममा चर्को फुट र गुट छ भन्ने हल्ला पनि बाहिर निस्कियो, फेरि यसमा सत्यता पनि उत्तिकै थियो । त्यसको ठीक अगाडिका प्रशिक्षक उमेश पटुवालले राजीनामा दिएका थिए र यसबीच खेलाडीमा देशमा लागि राम्रो खेल्नुपर्छ भन्ने भावना पनि मरेको थियो । पटवालले टिम छाडेको पनि लामै समय भइसकेको छ । अबको प्रश्न हो, नेपाली क्रिकेट टिमलाई अब कस्तो प्रशिक्षक चाहियो त ? कस्ता प्रशिक्षक ल्यायो भने नेपाली क्रिकेट उँभो लाग्छ त ? नेपाललाई कत्तिको स्तरको प्रशिक्षक चाहिन्छ त अब ? अनि यो प्रशिक्षक खोज्ने काम कसरी गर्ने त ? विश्वव्यापी रूपमा खुला ढंगले नै प्रशिक्षकको आह्वान गर्ने हो कि ? नेपाल क्रिकेट संघ (क्यान) अहिले नेपाली टिमका लागि प्रशिक्षककै खोजीमा छ ।

कोरोना भाइरस संक्रमणको महामारी र यसबाट बच्न लागू भइरहेको लकडाउनका कारण क्यान खुलेर यो काममा लाग्न पाएको छैन । अहिले त क्यानले राम्रोसँग काम गर्न नपाएकोमा माफी पाउँला, तर ढिलो चाँडो यो काम पूरा गर्नु नै छ । क्यानको स्रोतलाई विश्वास गर्ने हो भने केही विदेशी प्रशिक्षक सम्पर्कमा पनि छ, नेपाली क्रिकेटको यो सर्वोच्च संस्था । केही महिना नै भइसकेको छ, उमेश पटवालले राजीनामा दिएको । यी भारतीय प्रशिक्षकले जति समय नेपालमा बिताए, त्यो धेरै अर्थमा सुखद रहेन । उनको नेतृत्वमा नेपाली टिमको प्रदर्शन राम्रो हुन सकेन । नेपाल आएयता सबैभन्दा पहिला उनले आफ्नो प्रमुख उद्देश्य नेपाललाई ट्वान्टी–२० विश्वकपमा छनोट गराउनु रहेको बताएका थिए । जति बेला नेपाल त्यसमा छनोट हुन सकेन्, उनले उल्टै प्रश्न गरेका थिए– नेपाल सायद त्यहाँसम्म पुग्न योग्य थिएन कि ! उनलाई नेपालको प्रशिक्षक नियुक्त गर्नुमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सबैभन्दा बढी निर्णायक भूमिका थियो ।

पटवाललाई लिएर सबै निराश – आईसीसी आफैं पनि पटवालको कामबाट खुसी थिएन, स्रोत यस्तै भन्छ । आईसीसीको बुभाइ के थियो भने पटवालले राम्रोसँग काम नै गर्न सकेनन्, अथवा गर्न नै चाहेनन् । एक प्रकारले उनको भूमिका नै शंकास्पद रह्यो । आईसीसीको आशंका थियो भने कतै पटवालले नेपाली क्रिकेटलाई बिगारिरहेका त छैनन् ? नेपाली खेलाडीलाई गलत ढंगले उक्साइरहेका त छैनन् ? उनकै पालामा त हो, नेपाली टिममा खुलस्त रूपमै फुट र गुट देखिन थालेको । खेलाडी–खेलाडीको गुट देखिएको थियो र एक पक्षले अर्को पक्षलाई असहयोग गरिरहेका थिए । बरु एकले अर्कोलाई आरोप लगाउने काम भने भयो र भनियो, यस्तै स्थिति रहे, नेपाली क्रिकेट खस्केर कमजोर हुनेछ । समग्रमा टिमको प्रदर्शन पनि राम्रो रहेन, निकै उतारचढावपूर्ण रह्यो । ओमान र अमेरिका सम्मिलित आफ्नै भूमिमा भएको त्रिकोणात्मक वान डे सिरिजमा नेपालको प्रदर्शन एकनासे रहेन र यो प्रदर्शनमा प्रश्न गर्न सकिने धेरै स्थान थिए । पटवालले खासमा छोड्नुको प्रमुख कारण भने अलग्गै थियो र सम्भवत: यही कारणले उनले राम्रोसँग काम नगरेको पनि हुनसक्छ । क्यान प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा उनले प्रशिक्षक पदको नियुक्त पाएका थिए । उनको तलब थियो, महिनाको नौ हजार डलरको हाराहारीमा ।उनको तलब आईसीसीले राष्ट्रिय खेलकुद परिषद्मा पठाउने गथ्र्यो । परिषद्ले कर काटेर उनलाई तलब दिने गरेको थियो । पटवालको आपत्ति परिषद्ले कर भनेर धेरै रकम काट्यो भन्नेमै थियो । खासमा प्रशिक्षकको तलबबारे विवाद यसअघि नै सुरु भइसकेको थियो, दसानायेकेकै प्रभावमा । उनी प्रतिमहिना आठ हजार डलरको हाराहारीमा तलब थाप्थे । त्यो बेलाको क्यानले यो रकम धेरै भयो, हामीले दिन सक्दैनौं भन्यो । यस्तोमा नेपाल सरकार नै अगाडि आएर उनको तलब आपैंmले दिने गरेको थियो । यो काम तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । त्यही बेला अन्य खेलका सरोकारवालाले क्रिकेटमै मात्र किन विदेशी प्रशिक्षकलाई तलब सरकारले दिनुपर्‍यो भनेर पनि प्रश्न उठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *