जातव्यवस्थासँग जुध्ने नेता जोडी

समाज

प्रतिनिधिसभा सांसद महेश्वर गहतराज र प्रदेशसभा सांसद उषा पुनको विवाह जनयुद्धको सुरुवातकालमा भएको हो । यो जोडीले २०५३ सालमा परिवारलाई थाहा नदिई प्रेम विवाह ग¥यो । बिहेपछि गहतराज एक्लै ससुराली गएर जानकारी दिएका थिए । उनी भन्छन्, ‘हाम्रो बिहेको कुरा सुनेर उहाँहरू रिसाउनुभएको सुनेको थिएँ । तर, म गएपछि त्यस्तो केही भन्नुभएन, सहजै स्वीकार्नुभयो ।’ गहतराजले त्यतिबेला अब समाज बदलियो भन्ने सोचेका थिए । तर, दलित र गैरदलितको प्रेम र विवाहलाई लिएर न समाज बदलिएको देखियो, न राज्य नै । पश्चिम रुकुमको घटना त्यसको उदाहरण हो । गहतराज थुप्रै सामाजिक परिवर्तन भए पनि सांस्कृतिक र वैचारिक पक्षमा परिवर्तन हुन नसकेको स्वीकार्छन् । त्यसो त राजनीतिमा सक्रिय केही व्यक्तिहरूबीच दलित–गैरदलित विवाहका अरू उदाहरण पनि छन् । सांसद मीन विश्वकर्मा र निरू पौडेलबीचको विवाह त्यसैमध्ये एक हो । २०४७ सालमा प्रेम विवाह गर्दा उनी धरान बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष थिए । बिहेपछिको लामो समय उनले ससुरालीको दैलो टेक्न पाएनन् । त्यतिबेला उनलाई तत्कालिन जिल्ला अध्यक्षलेसमेत अहिले नै दलित–गैरदलितबीच बिहे गर्ने अवस्था सिर्जना भइनसकेको भन्दै स्पष्टिकरण लिएका थिए । ‘त्यसो हो भने बिहे गर्ने खालको परिवर्तन कहिले हुने हो तोकिदिनुस् । त्यसपछि हामीले सोही मितिमा बिहे गरौँला भनेर मैले उनलाई जवाफ दिएँ’, मीन सुनाउँछन् । बिहेपछि पार्टीमा मीनको जिम्मेवारीसमेत घटाउँदै लगियो । तर मीन दम्पतीले पार्टी वा अन्य व्यक्तिबाट आएका दबाबलाई बेवास्ता गर्दै सम्बन्धलाई अघि बढाए । विवाहको डेढ वर्षपछि छोरी जन्मिइन् । त्यसपछि उनले सुसुरालीमा प्रवेश पाए ।

दलित–गैरदलित विवाह गर्ने अर्को जोडी हो– सांसद दुर्गा विक र नेकपानिकट युवा संगठनका केन्द्रीय सचिव विनय थापाको जोडी । उनीहरूले २०६४ साल असारमा पार्टी (तत्कालीन माओवादी) निर्णयअनुसार विवाह गरेका थिए । त्यतिबेला दुर्गा विद्यार्थी संगठनमा थिइन् भने गगन जनमुक्ति सेनामा थिए । बिहेअघि दुवैले घर–परिवारमा सल्लाह गरेका थिए । परिवारले स्वीकृति दियो । बिहे भएको एक हप्तापछि घर गएकी दुर्गालाई परिवारले कुनै विभेद गरेन । दुर्गा भन्छिन्, ‘उहाँको परिवार वैचारिकरूपमा निकै अगाडि हुनुहुँदोरहेछ । अहिलेसम्म परिवारबाट कुनै विभेद भोगेकी छैन ।’ तर, आफूलाई विभेद भएन भन्दैमा आफ्नो समुदायमा पनि विभेद छैन भन्ने कुरा भने स्वीकार्दिनन् । ‘मलाई विभेद नहुनु भनेको सबै दलित समुदायलाई विभेद नहुनु होइन’ उनी भन्छिन्, ‘हाम्रो समाजको चेतनास्तर अझै माथि उठ्न सकेको छैन ।’

सांसद अञ्जना विशंखेले भने गैरदलितसँगको बिहेपछि विभेद भोगिन् । ७ वर्षअघि कुवेर ढकाल केसीसँग विवाह गरेकी उनलाई परिवारले स्वीकारेन । कुवेरकी आमा ‘बरू जनजाती, चेपाङ बिहे गरेको भए हुन्थ्यो, दलितसँग किन गरिस् ?’ भन्दै छोरासँग रिसाएको अन्जनालाई सम्झना छ । अञ्जना दलित आन्दोलनमा सक्रिय भएकाले समस्यासँग जुधिन् । भन्छिन्, ‘मेरो ठाउँमा अरू कोही हुन्थ्यो भने हार खान्थ्यो होला । तर, म आफ्नो निर्णयमा कत्ति पनि डगमग भइनँ । र, आज उहाँहरूको विचार परिवर्तन गर्न सफल भएकी छु ।’ अहिले घरमा अञ्जनाको सम्बन्ध राम्रो छ ।

पूर्वसांसद अनिता परियार र नेकपा इटहरी सह–इन्चार्ज निर्मल बरालको पहिलो भेट २०५५ सालमा भएको थियो । त्यतिबेला निर्मल जनकपुर, सगरमाथा, मेची र कोशी अञ्चलको जनमोर्चानिकट विद्यार्थी संगठन इन्चार्ज थिए र प्रशिक्षण दिन महोत्तरी पुगेका थिए । त्यहाँको विद्यार्थी अध्यक्ष अनिता थिइन् । त्यतिबेलैदेखि मनमा बसेकी अनिताप्रति निर्मलाको मनमा प्रेम विकसित भयो । उनले बिहेको प्रस्ताव राखे तर अनितालेसहजै स्वीकार गरिनन् । अनिता भन्छिन्, ‘साँच्चै बिहेका लागि प्रस्ताव गरेको हो या भावनामा बहकिएर यस्तो निर्णय लिएको हो भन्नेमा आशंका थियो । तर, उहाँ आफ्नो कुरामा अडिग देखिएपछि स्वीकार गरेँ ।’ निर्मलको परिवारले उनीहरूको सम्बन्धलाई स्वीकार नगरे पनि २०६५ सालमा एक भव्य कार्यक्रमबीच उनीहरूको विवाह भयो । लामो समय निर्मल घर गएनन् । समाजमा अनेकथरी चर्चा चले । तर, यो जोडी त्यससँग संघर्ष गर्दै अघि बढिरह्यो । दलित–गैरदलित विवाहका सन्दर्भ माओवादी जनयुद्धसँग पनि जोडिन्छ । त्यस अवधिमा निकै संख्यामा दलित–गैरदलित विवाह भए । तर शान्तिप्रक्रियासँगै निकै कम भयो । जनयुद्धकालमा भएका कतिपय विवाह–सम्बन्ध विघटित भए । सांसद गहतराजको अनुभवमा सांस्कृतिक र वैचारिक रूपान्तरणभन्दा आर्थिक रूपान्तरणमा बढी केन्द्रित भएका कारण यस्तो अवस्था आएको हो ।

अन्य जातमा अलिक उदार
दलित–गैरदलित विवाहको तुलनामा अन्य जातबीच विवाहको संख्या भने समाजमा अलिक बढी देखिन्छ । त्यस्तो विवाह गर्ने राजनीतिमा सक्रिय व्यक्तिहरू पनि उत्तिकै छन् । अन्तरजातीय बिहे गर्ने नेताको संख्या नेकपामा निकै छ । पार्टी अध्यक्षदेखि नेतृत्व तहमा रहेका धेरैले अन्तरजातीय विवाह गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यले अन्तरजातीय विवाह गरेका थिए । जेलबाट छुटेपछि स्वागत गर्न पुल्चोक क्याम्पस पुगेकी शाक्य पहिलो भेटमै ओलीसँग प्रभावित भएकी थिइन् । त्यही प्रभाव प्रेमिल बन्दै २०४४ सालमा जनवादी विवाहमार्फत सम्बन्धमा बदलियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रविलक्ष्मी चित्रकारबीच प्रेम विवाह गरेका हुन् । रविलक्ष्मीको काठमाडौंस्थित घरमा भूमिगतरूपमा बस्दा खनाल र उनीबीच प्रेम भएको थियो । उनीहरूबीच जनवादी विहे हुँदा खनाल ३३ वर्षका थिए । अन्तरजातीय विवाह गर्ने राजनीतिक जोडीमा हिसिला यमी र डा. बाबुराम भट्टराईको चर्चा निकै हुने गर्छ । अध्ययनका क्रममा दुवैजना भारतको दिल्लीमा थिए । त्यही समय भट्टराई ट्याक्सी दुर्घटनामा परे । त्यतिबेला यमीले गरेको हेरचाहले उनीहरूबीच प्रेम अंकुरण भयो । त्यही प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे । केही वर्षअघि बाबुराम–हिसिलापुत्री मानुषीले पनि जेकेन्द्र श्रेष्ठसँग विवाह गरेर अन्तरजातीय सम्बन्ध श्रृंखलालाई निरन्तरता दिएकी छिन् ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सुजाता शाक्य पनि अन्तरजातीय विवाह गर्ने जोडी हुन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा उनले टिचिङस्थित नर्सिङ क्याम्पसकी सभापति शाक्यसँग पार्टीको पहलमा प्रेम–विवाह गरेका हुन् ।

अन्तरजातीय विवाह गर्ने नेकपाका माथिल्लो तहमा नेतामा वामदेव गौतम पनि हुन् । उनी र तुलसा मगरबीच २०३८ सालमा चिनजान भएको थियो, चिनजान अघि बढ्दै २०४० सालमा विवाह भएको थियो । त्यस्तै ईश्वर पोखरेल र मीरा ध्वजूले पनि २०३८ सालमा भएको परिचयलाई २ वर्षपछि विवाहमा परिणत गरेका थिए । नेता अष्टलक्ष्मी शाक्य र अमृत बोहराबीच २०३७ सालमा कम्युनिष्ट पार्टीको झन्डामुनि सपथ खाएर विवाह भएको थियो । त्यस्तै, कम्युनिष्ट नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, प्रदीप नेपाल, अरुण नेपाल, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री, लीलामणि पोखरेल, तेजबहादुर ओली, कुलबहादुर केसी, देवी खड्का, दीपक बोहरा, पूर्ण घर्तीको जोडीले पनि अन्तरजातीय विवाह गरेको हो । नेता पाण्डे र पूर्णशोभा चित्रकारले २०४२ सालमा भूमिगत अवस्थामै विवाह गरेका हुन् । गोकर्णले नेवार समुदायकी प्रतिभा श्रेष्ठसँग २०५० सालमा विवाह गरेका हुन् । त्यतिबेला प्रतिभा अनेरास्ववियुमा आवद्ध थिइन् भने गोकर्ण शंकरदेवमा विद्यार्थी नेता थिए ।

नेता प्रदीपले झुमा देवान, अरुणले सम्झना श्रेष्ठ, राजेन्द्रकुमारले शोभा पाठक, रामकुमारीले पशुपति पुरी, लीलामणिले शशी श्रेष्ठ, तेजबहादुरले जुनुकुमारी रोका, देवीले राजकुमार श्रेष्ठ, र दीपकले उन्नति बुढामगर र पूर्णले सीता आचार्यसँग अन्तरजातीय विवाह गरेका हुन् । लालबाबु पण्डित र विमला महत, गंगा श्रेष्ठ र वन्दना सुवेदी, विश्वभक्त दुलाल र बुद्धलक्ष्मी महर्जनको जोडी पनि अन्तरजातीय विवाह गर्नेमा पर्छन् । कांग्रेस नेता विजयकुमार गच्छेदारले पनि नेवार समुदायकी निर्मला कक्षपतिसँग प्रेम विवाह गरेका हुन् । निर्मलाको परिवारले खासै साथ नदिए पछि उनीहरूले स्वतन्त्र रूपमा विवाह गरेका थिए । अन्तरजातीय भएरमात्रै होइन, नेपालको सन्दर्भमा अन्तरभौगोलिक वैवाहिक सम्बन्धलाई पनि सहज रूपमा लिएको पाइँदैन भन्ने यो एउटा उदाहरण । त्यसैबीच संघर्ष गरेर तराई–मधेश र पहाडबीचको सम्बन्ध जोडेर अन्तर–भौगोलिक विवाह गर्ने नेताहरू निकै छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवको परिवार त्यसैमध्येका हुन् । भण्डारीकी छोरी निशाकुसुम र यादवका नाति अभिषेकबीच वैवाहिक सम्बन्ध गाँसिएपछि उनीहरूबीच पारिवारिक नाता गाँसिएको छ । ‘हाइ प्रोफाइल’, त्यसमा पनि अन्तर–भौगोलिक जातीय विवाह भएकाले निशा–अभिषेकको बिहेले निकै चर्चा पाएको थियो ।

नेता हृदयेश त्रिपाठीले शोभा कँडेलसँग विवाह गरेका छन् । मित्रता हुँदै सम्बन्ध प्रेममा परिणत भएपछि उनीहरूले २०४२ सालमा विवाह गरेका हुन् । जितेन्द्र देव र नेवार परिवारकी सन्ध्या मानन्धरको जोडीले पनि विद्यार्थी राजनीति गर्ने क्रममा भेट भई २०४३ सालमा लगनगाँठो कसेको थियो । वृषेशचन्द्र लाल, रामरिझन यादव, जयप्रकाश गुप्ता, सर्वेन्द्रनाथ शुक्ला, अशोक राई, कल्पना बस्नेत र रिजवान अन्सारीले अन्तरजातीयका साथै अन्तरभौगोलिक सम्बन्ध जोडेका छन् । वृषेशले काठमाडौंकी विजयालक्ष्मी श्रेष्ठ, रामरिझनले सीता अधिकारी, जयप्रकाशले सरस्वती पुरी, सर्वेन्द्रनाथले निरजिना शर्मा, अशोकले सुशीला श्रेष्ठ, रिजवानले विमला थापा र कल्पनाले जितेन्द्र चौधरीसँग विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *